मकवानपुरमा डेंगू संक्रमितको संख्या ५०० नाघ्यो

तु खबर संवाददाता
२०८० आश्विन ८, सोमबार १६:५४
file-photo

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ५०० नाघेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेंगू संक्रमण पुष्टिसँगै संक्रमितको कूल संख्या ५११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ११ जनाल मकवानपुरगढी गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका ४ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हालसम्म डेंगू संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३५८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ४५ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १२ जना, बकैया गाउँपालिकाका १५ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।