स्वास्थ्य मन्त्री बस्नेतद्वारा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् ।
बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मन्त्रालयका कामको प्रशंसा गरेका हुन् ।
स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेर्ड निःशुल्क गरेपछि बागमती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८११ बेर्ड निःशुल्क गरेको थियो ।
मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैयाँ सहुलियतमा थप ५० हजार रुपैयाँ उपलब्ध गराईरहेको, हृदयरोगका बिरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बिपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको उल्लेख गरे । उनले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए ।
केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउँदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले बिपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो क्रममा बागमती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ ।
बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलालले बागमती प्रदेशले सिमान्तकृत बिपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत सहूलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी गराए ।
