आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र मधेस प्रदेशको एक दुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
