बागमती प्रदेश सभा संचालन गर्न सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०८० भाद्र २४, आईतवार ०९:४०
file-photo

मकवानपुर । बागमती प्रदेश सभा बैठक संचालन गर्नका लागि आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्ने गरी बोलाइएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बागमती प्रदेश सभा गत असार २१ गतेपछि बस्न सकेको छैन । प्रदेश सभा बैठकको लागि मिति घोषणा भएपनि पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र  प्रतिपक्ष दलले बजेटमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ ।

बागमती प्रदेश सभाको बैठक आज बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको छ । गत भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि सारिएको थियो ।

यसअघि भदौं १८ गते सोमबार बस्ने भनिएको बैठक पनि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमति हुन नसक्दा भदौं २० गते बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।