यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० भाद्र २४, आईतवार ०८:२१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।