मकवानपुरमा डेंगू संक्रमितको संख्या ४०६ पुग्यो

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार १८:४५

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४०६ पुगेको छ । जिल्लामा शुक्रबार थप ४ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४०६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना र इन्द्रसरोवर गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २७४ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती गाउँपालिकाका २० जना, मनहरी गाउँपालिकाका ३१ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका १४ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।