मुख्यमन्त्री जम्कट्टेलले गरे न्वागी पर्वको उद्घाटन

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार १७:०९
file_photo

मकवानपुर । चेपाङ समूदायको सांस्कृतिक राष्ट्रिय न्वागी पर्व समारोहको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्वर– ५ स्याङग्रीमा उद्घाटन गरेका छन् ।

त्यस अवसरमा उनले चेपाङ समूदायको वर्गीय उथ्थान र आर्थिक आत्मनिर्भरताको लागि केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले चेपाङ समूदायको वर्गीय हितको लागि कृषि कार्यक्रम, स्वास्थ्य उपचार, चेपाङ समूदायलाई उच्च शिक्षाको लागि छात्रवृत्ति उपलब्ध गराउन बागमती प्रदेश सरकारले यसै वर्षको नीति कार्यक्रममा समावेश गरेको पनि जानकारी दिए ।

चेपाङ समूदायको लागि चेपाङ आवास गृह निर्माणको लागि पनि प्रदेश सरकारले गुरु योजना तर्जूमा गरी उनीहरुलाई हरेक वर्ष तथ्याङ्क लिएर विपन्न प्रजा जातीलाई प्रत्येक वर्ष आवास गृह उपलब्ध गराउँदै लैजान सरकार सक्रिय रहेको जानकारी दिए ।

यस्तै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजाले चेपाङ समूदायलाई गरिबी उन्मुलन गर्न नीतिगत कार्यक्रम तर्जूमा गरी उनीहरुलाई आत्मनिर्भरतर्फ लैजान खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सरकारले अनुदान उपलब्ध गराउनुपर्ने माग गरे ।

उनले अब चेपाङ युवाहरुलाई पनि शिपमुलक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा चिकित्सक स्वास्थ्यतर्फ उच्च शिक्षा अध्ययन गराउन सरकारले छात्रवृत्तिको कोटा क्रमश हरेक क्याम्पसमा उपलब्ध गराउँदै लैजानुपर्ने बताए । कार्यक्रममा चेपाङ समूदायका युवायुवतीहरुले झाँकी नाँच प्रस्तुत गरेका थिए ।