विद्युतीय धरापमा परेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १९, मंगलवार १०:३५
file-photo

धनगढी । कैलालीको धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।

विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।