विद्युतीय पासोमा परेर एक युवकको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १७, आईतवार १६:०३
सांकेतिक तस्वीर

भरतपुर । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय २६ वर्षीय धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

प्रहरीका अनुसार, विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक महतोको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।