मकवानपुरमा डेंगू संक्रमितको संख्या ३२५ पुग्यो

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १७:०८
file-photo

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ३२५ पुगेको छ । जिल्लामा शुक्रबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ३२५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना र भीमफेदी गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २२० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, बागमती गाउँपालिकाका १६ जना, मनहरी गाउँपालिकाका २१ जना, भीमफेदी गाउँपालिकाका ८ जना, बकैया गाउँपालिकाका ७ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।