मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे आज सुनुवाइ हुने
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको हो ।
थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका कांग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए । त्यसविरुद्ध पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।
यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउ अवस्थामा रहन भनेको थियो ।
अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेको थियो ।
उता, मुख्यमन्त्री थापाले भने आफूले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिएको जवाफ पेश गरेका छन् ।
