पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
गोरखा । पहिरोका कारण गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ । प्रहरीका अनुसार, सुक्खा पहिरो पन्छाउन समय लाग्ने र अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भइरहेको छ ।
गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको जनाइएको छ । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै रोकिएको छ ।
