पर्वतमा पहिरोले ठूलो क्षति, सात घर विस्थापित
पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए ।
उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सातवटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौं बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए ।
पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए ।
