गोरखामा पहिरोले एक घर बगायो, सात घरमा क्षति
गोरखा । गोर्खामा पहिरोले एक घर बगाएको छ भने सात घरमा क्षति पुगेको छ । जिल्लाको धार्चे– ६ यार्सामा गएराति लगातारको बर्षापछि गाउँको बिचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको हो ।
पहिरोले घरमा रहेको नगद, जिन्सी सबै लगेको भएपनि मानवीय क्षति भने नभएको स्थानीय वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए । उनका अनुसार, एक्कासी घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आएपनि मान्छेले भने भागेर ज्यान गएका हुन् ।
सुकमायाको सान जनाको परिवार रहेका छन् । उनीहरु छोरीको घरमा शरण लिएर बसेका र उनीहरुलाई तत्काल खाने, बस्ने व्यवस्था गर्न सहयोगको आवश्यकता रहेको वडाध्यक्ष घलेले बताए ।
वडाध्यक्ष घलेका अनुसार, सोही बाढी र पहिरोले अन्य सात घर पनि क्षति पुर्याएको छ । भीमबहादुर घलेको घरको भान्सा कोठा लगेको छ ।
यसैगरी, टेकबहादुर घले, जयबहादुर गुरुङ, सुनबहादुर गुरुङ, च्याबर घले, धामी घले र आइतीमाया घलेको घरमा बाढी र पहिरोले आंशिक क्षति पुर्याएको उनले बताए ।
