आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने

२०८० भाद्र १०, आईतवार ०८:१८

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहनुका साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।