हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध
मकवानपुर । पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।
गएराति परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित विभिन्न स्थानमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिरो गएको स्थान ललितपुर र मकवानपुर जिल्लाको सिमाना नजिकै पर्दछ ।
पहिरो पन्छाउनका लागि मकवानपुर प्रहरी टोली र ललितपुर प्रहरी टोली घटनास्थलमै जाँदै गरेको उनले बताए । आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको उनको भनाई छ ।
हाल संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात संचालनमा रहेको छ ।
