बागमतीका मुख्यमन्त्री जम्मकट्टेलद्वारा प्रहरी भवन उद्घाटन
मकवानपुर । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रहरीले दिने सेवालाई छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताए । उनले प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुरुप काम गरिरहेको उल्लेख गर्दै व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा प्रहरीलाई सेवा प्रवाहमा थप सहजता हुने बताए ।
प्रहरी सेवामा थुप्रै अभाव भए पनि शान्ति सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गरिरहेको बताउँदै प्रहरी सेवालाई प्रदेशमा समायोजन गरेपछि विद्यमान सबै समस्या समाधान हुने उनको भनाई छ ।
यस्तै, कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेश मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए । मन्त्री श्रेष्ठले यस वर्ष प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन नभए पनि जीर्ण अवस्थामा रहेका चौकी मर्मतका लागि बजेट नरोकिने प्रतिबद्धता व्यक्त गरे ।
ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहित ब्यारेक भवन निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको उपस्थिति रहेको थियो ।
