चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १९:११
file-photo

मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै, बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलाहरुलाई निशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि कास स्वीकृत गर्ने निर्णय गरेको छ भने विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले बागमती प्रदेश सभाको बैठक भदौ १७ गतेका लागि बोलाउने गरी निर्णय गरेको जानकारी दिए ।