आज ओल्के पर्व मनाइँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज एक दिन सार्वजनिक बिदा दिइएको छ ।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन रहेको छ ।
ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।
आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हात–खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सदभाव बाँड्ने गरिन्छ ।
वर्षायाममा झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने चलन छ ।