सोलुखुम्बुमा सुत्केरीको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार १५:११
सांकेतिक तस्वीर

काठमाडौँ । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा शल्यक्रियापश्चात् सुत्केरी महिलाको मृत्यु भएको छ । माप्यदुधकोशी गाउँपालिका– ३ खास्तापकी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

बुधबार बेलुका ६ः४५ बजे शल्यक्रिया सफल भई छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो ।

अप्रेसनमा संलग्न चिकित्सक डा.सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर ज्यान गएको हो । आमाको पेटभित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसनमार्फत् निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको उनले बताए ।

जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको ज्यान गएको यो पहिलो घटना हो ।

महिलाको शव आज बिहान परिवारले बुझेका छन् भने शिशुको अस्पतालमै उपचार भइरहेको छ ।