झरनाद्वारा २ विद्यालयमा काव्य प्रशिक्षण

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार १४:०२

मकवानपुर । साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले दुई वटा विद्यालयमा काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकाको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो ।

झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुद्ध मावि हात्तिसुडेँमा उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई काव्य प्रशिक्षण गरेको हो ।

कार्यक्रममा बुद्ध माविमा उच्च माध्यमिक तहमा अध्ययनरत करिव ८० जना विद्यार्थीहरुलाई कविता, गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

बुद्ध माविमा भएको कार्यक्रममा बुद्ध माविका प्रअ प्रेम बोम्जन, सप्रअ योगबहादुर राई तथा शिक्षक सुरेस रेग्मीलगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, बुधबार नै झसाप मकवानपुरको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मावि बागमतीमा काव्य प्रशिक्षण गरेको छ । माध्यमिक तहका विध्यार्थीहरुलाई काव्य प्रशिक्षण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुदै झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीले आफुसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताए । उनले आफुभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्ने पनि बताए ।

कार्यक्रमका विशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा विद्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनता माविमा माध्यमिक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थीहरुलाई कविता, गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा बुद्ध माविका प्रअ प्रेम बोम्जन, जनता माविका सहायक प्रअ दिनेश माझी, समाजसेवी बिष्णु घिमिरे, शिवराम ढकाल र तथा शिक्षकहरुलगायतको आतिथ्यता रहेको थियो ।

झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिएका थिए । भने कार्यसमिति सदस्य प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गरेका थिए ।

“सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत सो काव्य प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उनले बताए ।