झरनाको मुक्तक–साँझ सम्पन्न
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुर मकवानपुरको २८८ औं साहित्य शृङ्खला तथा २९ औँ मुक्तक–साँझ कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अतिथि तथा स्थानीय मुक्तककारहरूका रचना वाचन, स्रष्टा सम्मान तथा माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता समावेश भएका थिए ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको १५ हजार ५ सय ५५ रुपैयाँ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७९ बाट काठमाडौँका मुक्तककार रुद्र अधिकारी सम्मानित भएका छन् ।
कार्यक्रममा स्थानीय मुक्तककारहरूका साथमा पोखराका मुक्तककार प्राञ्जल र चितवनकी मुक्तककार बिमला अधिकारीले आफ्ना आधा दर्जन मुक्तकहरू वाचन गरेका थिए ।
मुक्तक प्रतियोगिता अन्तर्गत सहभागीहरू २१ मध्येका १० जनाका उत्कृष्ट मुक्तकहरू वाचन गरिएको थियो । प्रतियोगितामा बुद्ध मावि बकैयाकी सुमिना दाहालको मुक्तक सर्वोत्कृष्ट भएको छ । दाहाललाई ५ हजार ५ सय ५५ नगद राशीको शिव–सावित्री स्मृति नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा नियात्राकार निर्मोही व्यासको प्रमुख आतिथ्यता रहेको थियो भने साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, नेपाली भाषा शिक्षक समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेल, युग दर्पण साहित्य समाज मकवानपुरका अध्यक्ष ओमभक्त भण्डारी लगायतको आतिथ्यता रहेको थियो । झरना साहित्यिक परिवार मकवानपुरले २०६४ सालदेखि नियमित रूपमा मुक्तक साँझ गर्दै आइरहेको झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले जानकारी दिए ।
