केशव स्थापितले त्यागे एमाले

तु खबर संवाददाता
२०८० श्रावण ३०, मंगलवार ०९:२०
file-photo

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारी त्यागेका छन् ।

उनले पार्टीको नेतृत्वलाई जिम्मेवारीबाट बिदा लिने जानकारी गराएपछि सोमबार बसेको सचिवालय बैठकले उनलाई पार्टीको जिम्मेवारीबाट दिने निर्णय गरेको छ ।

स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनित भए ।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए ।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलसँगको विवादका कारण उनको मन्त्री पद गुमेको थियो ।