कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन गर्छौँः प्रधानमन्त्री

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार १८:०६
file-photo

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँगकोे छलफलमा सो निर्णय तत्काल कार्यान्वयन गरिने बताए ।

निजी क्षेत्रका प्रतिनिधिहरुले जग्गाको कित्ताकाट नखुल्दा घर निर्माणका गतिविधि रोकिन गएको र निर्माण उद्योग प्रभावित भएको गुनासो गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायतलाई सँगै राखेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र पदाधिकारीहरुसँग सिंहदरबारमा छलफल गरेका थिए ।

प्रधानमन्त्रीले जनता र व्यवसायीको मनोबल उकास्न सरकार तथा निजी क्षेत्रलगायतले मिलेर काम गर्नुपर्ने बताएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।