धादिङमा पहिरोको जोखिम, १५ घर खाली गराइयो
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–१ स्थित रिगाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीय त्रसित बनेका छन् ।
बस्तीमाथि रहेका बारीका गरा भासिन थालेको र जमिन चिरा परेर बग्न थालेपछि स्थानीय विद्यालय समेत केही दिनको लागि बन्द गरिएको छ । सो क्षेत्रको १५ घर खाली गराइसकिएको छ ।
वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ ।
अहिले त्यहाँका बासिन्दाले घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको धादिङ प्रहरीले जनाएको छ ।
केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् ।
गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ ।
करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाले जनाएको छ ।
