मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार ०९:२४

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकप्वाइन्ट र मनहरी गाउँपालिका वडा नम्वर ५ दरदराबाट विभिन्न मितिमा तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५ बाट आइतबार बिहान पौने १० बजेको समयमा लागूऔषध गाँजा १७ किलो ५०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देश भारतको वैशानी विहार किरापुर राजा राम बस्ने २३ वर्षीय नितेश कुमार र २५ वर्षीय रितेश कुमार रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, प्रहरी चौकी रातोमाटेबाट प्रहरी हवल्दार सुरेन्द्र शाहको कमाण्डमा खटिएको चेकिङ टोलिले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०१ बीए २०६९ नम्वरको ईण्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद भएपनि कार चालक नितेश र कारमा सवार रितेशलाई पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले शनिबार अपराह्न साढे ४ बजेको समयमा मनहरी गाउँपालिका–५ दरदराबाट लागूऔषध गाँजाको धुलो एक पन, नाईट्राभेट ट्याब्लेट १० पत्ता (१५० पिस) सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय रामसिंह वाईबा रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक कृष्णकान्त न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।