सशस्त्र प्रहरीद्वारा मकवानपुरमा साँढे ५ करोडभन्दा बढी राजस्व संकलन

तु खबर संवाददाता
२०८० श्रावण २७, शनिबार १६:४७
file-photo

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले पछिल्लो ३ महिनाको अवधिमा साँढे ५ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ ।

गणका प्रमुख अनिल कार्की अनुसार, पछिल्लो तीन महिनामा अवैध सामान ओसारपसार गर्ने ३२ वटा ट्रक र एउटा पिकअप भ्यानसहित अवैध सामान बरामदबाट सो रकम बराबरको राजस्व संकलन गरिएको हो ।

गणका प्रमुख कार्कीले ३२ वटा ट्रकबाट ५ करोड २० लाख ४० हजार ७ सय ६४ रुपैयाँ राजस्व र एउटा पिकअप भ्यानसहित अवैध सामान बरामदबाट ३४ लाख ६४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

सशस्त्र प्रहरीले यो अवधिमा मकवानपुरमा एक दर्जनबढी उद्दारका कार्य गर्नुका साथै ३३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । तीमध्ये १४ वटा ट्रकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौं, १८ वटा ट्रक र अवैध सामानलाई राजश्व अनुसन्धान कार्यालय पथलैया,  एउटा पिक अपभ्यानसहित अवैध सामानलाई वीरगंज भन्सार कार्यालय पठाइएको उनले बताए ।