आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार ०७:५१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । गएराति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा भएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।