मकवानपुर पहिरो अपडेट : बेपत्ता बेपत्ता भएकाहरुको पहिचान खुल्यो

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार ०९:५२
file-photo

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानस्थित आज बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनाको पहिचान खुलेको छ ।

बिहान अविरल वर्षाको कारण भल पहिरो आई स्थानीय अन्दाजी ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा बेपत्ता भएका ६ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बेपत्ता हुनेहरुमा अक्कलबहादुर स्याङ्तान, उनको छोरी २२ वर्षीया शिला पहरी, ज्वाई अन्दाजी २५ वर्षीय जिबन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षीया दिब्या पहरी र उनको घरमा पहुना आएका सिन्धुलीको हरिहरपुर गाउँपालिका–१, कोकटी बस्ने अन्दाजी १७ वर्षीय पासाङ घिसिङ रहेका छन् ।

हाल घटनास्थलमा प्रहरी चौकी भोर्लेनीको टोली रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, सोही पहिरोमा परेर अक्कलबहादुरको श्रीमती सन्तमाया स्याङ्तानको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता भएकी उनको स्थानीयले उद्दार गरी उपचारको लागि स्थानीय मेडिकलमा लगिएको थियो । उनको सोही मेडिकलमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको मकवानपुरका प्रवक्ता कार्कीले बताए ।