मकवानपुरमा पहिरोमा परी एक जनाको मृत्यु, ६ जना बेपत्ता
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानस्थित आज बिहान पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
अविरल वर्षाको कारण भल पहिरो आई स्थानीय अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनकी श्रीमती सन्तमाया स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ४ बजेको समयमा आएको भल पहिरोले बगाउँदा सात जना बेपत्ता भएका थिए । तीमध्ये शन्तमायालाई स्थानीयले उद्दार गरी उपचारको लागि स्थानीय मेडिकलमा लगिएको थियो । उनको सोही मेडिकलमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको हो ।
यस्तै, सोही पहिरोमा अक्कलबहादुर सहित ६ जना बेपत्ता भएका छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
