हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार ०८:५२
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोपथ सडकखण्ड अवरुद्ध बनेको छ ।

गएराति मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ लामराङस्थित वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गएरातिदेखि लगातार वर्षा भइरहेकोले कान्तिलोकपथमा आएको पहिरो पन्छाउन कठिनाइ भइरहेको र मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, हाल त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात संचालनमा रहेको छ ।