दोलखामा पहिरोमा परी बालकको मृत्यु, तीन जना बेपत्ता

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार १६:०२
file-photo

दोलखा । दोलखामा पहिरोमा परेर एक जना बालकको मृत्यु भएको छ । बिहीबार राति जिल्लाको गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गएको पहिरोमा परेर स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुगेको छ ।

यस्तै, पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा कृष्णबहादुर मगर, उनकी श्रीमती देवी मगर र हरिलाल श्रेष्ठ रहेका छन् ।
यस्तै, सोही पहिरोमा परेर तीन जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

पहिरोले मार्वुको टोपाटार र खारेको सल्लेस्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ भने टोपाटारमको पक्की पुल बगाएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती भन्दा माथि छिमेकी वडा खारेको डिलबाट पहिरो झरेको र पहिरोले बस्तीका ५ घर पुरेको जनाइएको छ ।

हाल उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।