देशभर ७७ प्रतिशत धान रोपाइँ सकियो

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १५:४७
file photo

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलका अनुसार, गत वर्ष सो समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

देशभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत, मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत, बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत, गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत, लुम्बिनी प्रदेशमा ८१ प्रतिशत, कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ ।