आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार ०८:२५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।

सोमबार देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोप, जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।