हेटौंडामा डेंगू रोग नियन्त्रणको लागि प्राविधिक जनशक्ति परिचालन गरिने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही साउन १७ गतेदेखि डेंगू रोग नियन्त्रणको लागि प्राविधिक जनशक्ति परिचालन गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका विपद् व्यवस्थापना समितिको आइतबार बसेको बैठकले डेंगू रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी नगरभित्रका विभिन्न वडाहरुमा प्राविधिक जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रत्येक वडाको टोल–टोलमा प्राविधिक उपकरणसहितको टोली परिचालन गरी लामखुट्टेको प्युपा (अण्डा र बच्चा) नष्ट गर्ने र ती टोलहरुमा जनचेतनाको लागि पर्चा, पप्लेट र माइकिङ गर्ने निर्णय गरेको उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखाका निरीक्षक भोला चौलागाईँले जानकारी दिए ।
साथै बैठकले स्वास्थ्यकर्मीहरु परिचालन गरी प्रत्येक घरपरिवारको रगत नमूना संकलन गरिने निर्णय गरेको उनले बताए । उनका अनुसार, बैठकले केही दिनभित्रै आवश्यक प्रकृया पूरा गरेर डेंगू रोगको नियन्त्रणको लागि प्राविधिक निरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।
