मकवानपुरमा आत्महत्याको घटना बढ्दो

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार १६:३२

मकवानपुर । मकवानपुरमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । जिल्लामा एक वर्षको अवधिमा झण्डै डेढ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीको तथ्यांकअनुसार जिल्लामा २०७९/०८० मा १ सय ४० जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरेर ४३ जना, आगो लगाएर १ जना, झुण्डिएर ९५ जना र हाम फालेर १ जनाले आत्महत्या गरेका हुन् ।

यो संख्या आर्थिक वर्ष २०७८/०७९ को तुलनामा बढेको हो । आव २०७८/०७९ मा १ सय १२ जनाले आत्महत्या गरेका थिए । त्यसवर्ष विशेष सेवनबाट ३० जना, आगो लगाएर १ जना, झुण्डिएर ७९ जना र पानीमा हाम फालेर (डुवेर) २ जनाले आत्महत्या गरेका थिए ।