हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध लागूऔषधसहित बुधबार तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने ४९ वर्षीय शंकर अधिकारी, बाराको निजगढ नगरपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीया कुमारी माया बल र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ४ बस्ने २२ वर्षीय रबि लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलिले पक्राउ गरेको हो । बुधबार देश भारतबाट काठमाडौंतर्फ जानको लागि आउँदै गरेको ना ५ ख ५५३ नं.को हवाइ ईन्धन बोकेको तेल ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्करको क्याविनमा लुकाई छिपाई ल्याएको लागूऔषध ओनरेक्स १४ बोतल फेला परेपछि निजहरुलाई पक्राउ गरिएको हो ।
साथै प्रहरीले उनीहरुको साथबाट अबैध भन्सार छलीचोरी पैठारी गरी ल्याएको एक लाख ७१ हजार ९ सय रुपैयाँको कपडालगायत अन्य सामाग्रीहरु पनि बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
