सर्पको टोकाईबाट ४ जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाईबाट दुई दिनमा चार जनाका मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको टोकाईबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्याइएकोमा उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैजना आफ्नो हजुरआमासँग एकतले घरमा बस्दै आएका थिए । नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी मृत्यु भएको थियो ।
यसैगरी, सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ । सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस्तै, सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको टोकाईबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो । लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै मृत्यु भएको जनाएको छ ।
