आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० असार २६, मंगलवार ०९:३५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।