सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १६:१८
file-photo

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यस्तै, सरकारी वकिलको कार्यालयले दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ ।

उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै, विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।