विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १५:३५
सांकेतिक तस्बिर

काठमाडौं । विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका संचालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।

सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको प्रहरीले जनाएको छ । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, सिनामंगलमा बी हिमालयन स्पायर होटल संचालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो–सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

विदेशबाट फर्किने क्रममा सुनसहित पक्राउ पर्नेहरुमा क्रमशः धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र बाँकेका भुम बहादुर वली रहेका छन् ।

यस्तै, सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा बिनोदसहित सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द शाह रहेका छन् ।

यस्तै, प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।