बागमती प्रदेश : मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

तु खबर संवाददाता
२०८० असार २५, सोमबार ०८:१५

मकवानपुर । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो ।

सो बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको छ ।

बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघ–संस्थाहरुका लागि विषयगत क्षेत्र तय गरी ति मन्त्रालयको ठोस–ठोसमा कार्य जिम्मेवारीसमेत तोकेको छ ।

यस्तै, बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

साथै मन्त्री श्रेष्ठले एक कार्यक्रमबीच बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरेका थिए ।

बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।