अनुदान रकम कटौती गरेको भन्दै कृषि मन्त्रालय घेराउ
मकवानपुर । बागमती प्रदेश सरकारले किसानलाई दिँदै आएको अनुदान रकममा कटौती गरेको भन्दै आज कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौंडास्थित कार्यालय घेराउ गरिएको छ ।
कटौती गरेको भन्दै चितवन जिल्लाका किसानहरुले हेटौंडामा आएर मन्त्रालय घेराउ गरी कृषि मन्त्रीविरुद्धमा नाराबाजी गरेका हुन् ।
स्थानीय सरकारले पनि चितवनका किसानलाई दूधमा अनुदान रकम दिएको भन्दै प्रदेशको पशुपंछी विकास निर्देशनालय हेटौंडाले दूधमा दिँदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानहरुले मन्त्रालय घेराउ गरेका हुन् । साथै उनीहरुले सो क्रममा कृषी मन्त्रीको राजिनामा समेत माग गरेका थिए ।
उनीहरुले ‘किसान मार्न पाईदैन, कृषि मन्त्री राजिनामा दे, किसान ठग्न पाइँदैन, दूध उत्पादन अनुदान कायम गर’ भन्दै नारा लगाएका थिए । प्रदेश सरकारले चितवनका ३ स्थानीय तहका दूग्ध उत्पादक किसानलाई दुधमा दिँदै आएको अनुदानमा काटौती गरेको किसानहरुको आरोप छ ।
यता कृषि मन्त्रालयले भने दोहोरो अनुदान परेकाले अनुदान रकम रोकिएको जनाएको छ । सम्बन्धित स्थानीय सरकारले पनि दूधमा अनुदान दिने र प्रदेश सरकारले पनि अनुदान रकम दिँदा महालेखा परीक्षकको कार्यालयले दोहोरो अनुदान दिएको भनेर प्रश्न उठाएपछी प्रदेश सरकारले अनुदान रकम रोकेको जनाएको हो ।
प्रदेश सरकारले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिँदै आएको छ । स्थानीय सरकारले पनि दूध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ ।
