बसमा करेन्ट लाग्दा घाइते भएका ओलीको मृत्यु

तु खबर संवाददाता
२०८० असार २१, बिहीबार १८:२२
file-photo

दाङ । सल्यानमा बिहीबार बिहान गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका एक युवकको मृत्यु भएको छ ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो ।

सो क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाँउ ३७ बर्षीय महेन्द्र ओलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ओलीको मृत्यु भएसँगै उक्त घटनामा परेर मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । यसअघि सो घटनामा रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको थियो ।