साईबर अपराध न्यूनिकरणतर्फ आवश्यक तयारी गर्न जरुरी : सभामुख पाठक

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सरकारले साईबर अपराध न्यूनिकरणतर्फ आवश्यक तयारी गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेश सभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले यस्तो बताएका हुन् ।
उनले सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको बताए ।
उनले पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उल्लेख गर्दै कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए ।
कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव इवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए ।
नेपाल दुरसंचार प्राधिकरणका निर्देशन विजय कुमार रायको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका ८० जना सांसदहरुको सहभागीता रहेको थियो ।