हेटौंडाबाट एकैदिन १२ जना पक्राउ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले मंगलबार अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजासहित १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२–०३–००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बागमती प्रदेश–०१–०२५च ३३८४ नं.को कार कार चालक पर्साको वीरगंज महानगरपालिका–१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, कारमा सवारी सोही महानगरपालिका–१८ बस्ने २० वर्षीया दुसमेना खातुन, २१ वर्षीया पुजा कुमारी मण्डल, पर्साको पटेरवा सुगौली गाउँपालिका–४ बस्ने २५ वर्षीय बिनय चौधरीलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले प्र.२–०३–००७ प ४७५४ नं.को मोटरसाइकलसहित पर्साको वीरगंज महानगरपालिका–१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र ३९ वर्षीय बिनोद पासवानलाई पक्राउ गरेको हो ।
त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
