आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० असार १९, मंगलवार ०८:१०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।