यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार ०९:००
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।