साउदी अरबमा नेपाली सुरक्षागार्डको मृत्यु
जेद्दा । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।
घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा परेर अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ ।
गोलाबारीमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।
साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो । –बीबीसी
