हेटौंडामा धादिङका बाँदर पीडित किसानको प्रदर्शन
मकवानपुर । धादिङ जिल्लाका बाँदर पीडित किसानहरूले बुधबार दिउँसो बागमती प्रदेश सभा सचिवालय हेटौंडाको कार्यालय अगाडि विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको गृह जिल्लासमेत रहेका धादिङका किसानहरूले बाँदर नियन्त्रण गर्न माग गर्दै प्रदेश सभा सचिवालय भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा धादिङको नीलकण्ठ नगरपालिका, ज्वालादेवी गाउँपालिका र सिद्धलेक गाउँपालिकालगायत करिब ७०÷८० जनाको समूहमा उपस्थित रहेका थिए । उनीहरुले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ‘बाँदर आतङ्क बन्द गर’, ‘प्रदेश सरकार कहाँ छ ? बाँदरपीडित यहीँ छ’ लगायत नारा लगाएर केहीबेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदेश सभा सचिवालय अगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरूलाई छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा बाँदर पीडित किसानहरूले सरकारले बाँदर नियन्त्रणका उपयुक्त कार्यक्रम ल्याउन माग गरेका थिए ।
उनीहरुले बाँदर नियन्त्रणमा सरकारले नसघाउँने हो भने वैकल्पिक उपायको रूपमा गाँजा खेती गर्न किसानहरू बाध्य हुने बताएका थिए । बाँदरले जनजीवनमा समस्या पार्दासमेत सरकार गम्भीर नबनेको गुनासो गरेका थिए ।
सो क्रममा मुख्यमन्त्री जम्मकट्टेलले सरकार किसानहरूको समस्या समाधानमा गम्भीर भएर लागेको बताउँदै प्रदेश सरकारले छिट्टै स्रोतसाधन स्थानीय निकायमार्फत् परिचाल गरी बाँदर नियन्त्रणको लागि बैकल्पिक उपायको अवलम्बन गरी कार्यान्वय गर्ने प्रतिबद्धता जनाए ।
उनले मुलुकको कानून अनुसार, गाँजा खेतीलाई अवैध लागूऔषधको घोषणा गरिएको भएपनि प्रदेश सरकारले अव यसै अधिवेशनमा गाँजा खेतीलाई वैद्य गर्नेतर्फ सरकारले विधेयक संसदमा प्रस्तुत गरी पारित गर्ने लक्ष्य राखिएको बताए । उनले गाँजा खेतीलाई अन्य निकायबाट दुरुपयोग हुनु रोक्न बैकल्पिक विभिन्न उपायहरु अवलम्व गरी दुव्र्यसनी र असामाजिक क्रियाकलापलाई कानूनद्वारा निषेधित गरिने विश्वास व्यक्त गरे ।
